कानुन न्यायकालागि हुनुपर्छ दमनका लागि होइन: कांग्रेस नेता आनन्द विष्ट

२०८३ असार २६

काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टले गणेश नेपालीको आत्मदाहको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राज्य व्यवस्था र समाजका लागि यो ठूलो आत्ममन्थनको विषय भएको बताएका छन् ।

नेता विष्टले कानुनको शासन स्थापित गर्ने नाममा नागरिकको आर्थिक क्षमताभन्दा बढी जरिवाना लिने र असह्य मानसिक दबाब दिने परिपाटीका कारण एक युवाले आत्मदाहजस्तो चरम बाटो रोज्नुपरेको भन्दै उनले दुःख व्यक्त गरेका हुन् ।

यो घटना केवल एक परिवारको क्षति मात्र नभई राज्यको संवेदनशीलतासँग जोडिएको विषयका रूपमा उनले टिप्पणी गरेका छन् ।

गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेता विष्टले परिवारजनमा उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

नेता विष्टले यस दुःखद् घटनाको तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। भविष्यमा यस्ता हृदयविदारक घटना दोहोरिन नदिन राज्यले आफ्नो कार्यशैलीमा सुधार र न्यायसंगत नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्: