गणेश नेपालीको मृत्यु प्रकरणमा तात्यो संसद, ज्ञानेन्द्र शाहीले उठाए राज्यको संवेदनशीलतामाथि प्रश्न

२०८३ असार २६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले काठमाडौं सहर र राज्यका नीति धनी तथा शक्तिशालीका लागि मात्रै हो कि गरिब र श्रमिकका लागि पनि हो भन्ने प्रश्न उठाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै शाहीले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गर्दै राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाए।

“यो काठमाडौं सहर अर्बपति र करोडपतिहरूको मात्रै हो? यो गरिब, दुःखी, श्रमिक र निमुखा जनताको सहर हो कि होइन?” उनले प्रश्न गरे।

शाहीले पछिल्लो समय काठमाडौंमा गरिब र श्रमजीवी वर्गलाई बाँच्न कठिन बन्दै गएको टिप्पणी गर्दै सरकारले हुनेखाने वर्गको हितमा मात्रै नीति बनाएको आरोप लगाए।

“सरकार अर्बपतिलाई चाहिएको होइन, सरकार त निमुखा र अपहेलितहरूलाई चाहिएको हो। तर आज सरकारका ऐन, नियम र निर्णयहरू केवल हुनेखानेकै पक्षमा केन्द्रित छन्,” उनले भने।

गणेश नेपालीले मोटरसाइकल पार्किङसँग सम्बन्धित जरिवाना र त्यसबाट सिर्जित मानसिक तनावका कारण आत्मदाह गरेको दाबी गर्दै शाहीले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

“१० हजार रुपैयाँ जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने? यो कस्तो न्याय हो?” उनले प्रश्न गरे। शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीको पनि आलोचना गर्दै जनताको ज्यान बचाउनभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाए।

“गृहमन्त्रीज्यू, तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? क्यामेरामा लाइक र भ्युज पाउनका लागि गरिने स्टन्टले जनताको ज्यान बच्दैन,” उनले भने।

उनले समयमै आवश्यक उपचारको व्यवस्था गरिएको भए गणेश नेपालीको ज्यान बचाउन सकिने दाबी पनि गरे।

साथै, नेपाली नागरिकले उच्च कर तिरे पनि शिक्षा, स्वास्थ्य, सुरक्षित सडक र आधारभूत सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै राज्यले करअनुसारको सेवा दिन नसकेको आरोप लगाए।

“हामी युरोपका देशको भन्दा बढी कर तिर्छौँ, तर सुविधा भने अत्यन्त न्यून पाउँछौँ। राज्यले कर उठाउने मात्रै होइन, नागरिकलाई आधारभूत सेवा पनि दिनुपर्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्: