जनकपुर । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आज सातवटै प्रदेशमा मतदान सुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको छ ।
मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेका छन् भने ३६४ जना मतदाता रहेका छन्। ३६४ जना मतदातामध्ये १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन्।
आइतबार भइरहेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस-एमाले-जसपा नेपाल गठबन्धनमा छन भने नेकपाले एक्लै चारवटै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेको छ। जसपा नेपालको समर्थनमा लोसपाबाट अन्यमा सर्लाहीका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् भने कांग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्ण, दलिततर्फ रौतहटका धर्मेन्द्र पासवान, महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवार दिएकी छन्।
त्यस्तै नेकपाबाट अल्पसंख्याकतर्फ रौतहटका रामानन्द प्रसाद, अन्यतर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलिततर्फ सर्लाहीका शम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको छ। जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि उनीहरूको नाम मतपत्रमा भने कायम छ।
जसपा नेपालबाट अल्पसंख्यकबाट शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेली दासको उम्मेदवारी निष्क्रिय भएको हो। मतदान दिउँसो ३ बजेसम्म चल्ने छ।



प्रतिक्रिया दिनुहोस्: