राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गर्न प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको आग्रह

२०८२ मंसिर २४

काठमाडौं । राजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलनको आयोजना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।

मंगलबार (आज) राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको काँधमा ठूलो राजनीतिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यो कामको नेतृत्व लिन पनि लिङ्देनले सुझाए ।

‘म वर्तमान प्रधानमन्त्रीलाई यहीँबाट आग्रह गर्न चाहन्छु । तपाईं यत्रो ठूलो रक्तपातपछि प्रधानमन्त्री बन्नुभएको छ । तपाईं मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नुभएको होइन, तपाईंको काँधमा ऐतिहासिक जिम्मेवारी पनि छ,’ उनले भने, ‘त्यसकारण तपाईं राजा, राजनीतिक दल र जेनजी पुस्ताको एउटा सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुस् र देशलाई निकास दिने कामको नेतृत्व गर्नुस् । म राजनीतिक दलहरूलाई पनि आग्रह गर्न चाहन्छु ।’

देशले यो भन्दा ठूलो द्वन्द्व बेहोर्न सक्दैन । अब सबै प्रकारका आग्रह, पूर्वाग्रह र अहंकार त्यागेर सम्झौताका लागि तयार हुनुस् । ठूला केही राजनीतिक दलका नेताहरूले मुख खोल्न थाल्नुभएको छ । उहाँहरूलाई पनि भन्छु पार्टीमा औपचारिक निर्णय गर्नुस्,’ उनले भने ।

अभिभावकीय संस्थाको रुपमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था गरेर अघि बढ्न उनले सुझाए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: