
जनकपुरधमम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते विश्वासको मत लिने भएका छन् । मधेश प्रदेश सभाले आगामी २८ असोज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएको हो ।
अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले असोज २८ गते विश्वासको मत लिँदै छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेश सभा बैठक डाकिएको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।
गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए ।
जेनजी आन्दोलनपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएको थियो । सो निर्देशनअनुसार फेसबुकबाट उनले राजीनामा घोषणा गरेका थिए । तर पछि उनले फेसबुकको राजीनामा मान्य नहुने भन्दै मुख्यमन्त्रीमा कायम रहेको बताएका थिए ।
त्यसपछि पनि जनमत पार्टीले मुख्यमन्त्रीलाई फिर्ता बोलाएको निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएको थियो । अहिले कांग्रेस र एमालेसँग मिलेर आफ्नै सरकारविरुद्ध अर्को सरकार बनाउन लागिपरेको छ ।
मधेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले र जनमतले गत बुधबार ५८ प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: