काठमाडौं । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।
एक उच्च अधिकृतले बताएअनुसार, यसमा चारवटै सुरक्षा निकाय परिचालित छन् । बालुवाटार सहित विभिन्न स्थानमा पटकपटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको उनले बताए ।
‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत तनावको स्थिति सिर्जना भएको छ,’ ती अधिकृतले भने, ‘यस्तोमा उहाँहरुको सुरक्षा गर्नु हाम्रो दायित्व पनि हो ।’
भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरेको छ । केही नेतालाई उद्दार गरेर लगिएको सुरक्षा स्रोतले बताएको छ । तर, उनीहरुलाई कहाँ लगियो भन्ने बताइएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेलाई सर्वदलीय बैठक बोलाएका छन् । त्यसअघि नै परिस्थिति नियन्त्रणबाहिर पुगिसकेको छ ।
ओलीको गृहजिल्ला झापादेखि उर्जामन्त्री दिपक खड्काको संखुवासभाको घरमा समेत तोडफोड भएको छ । ‘यस्तोमा सबैलाई सुरक्षा दिनु जिम्मेवारी भएकाले हामी परिचालित भएका हौं,’ ती अधिकारीले भने ।
सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका थिए । २ सय बढी घाइते छन् ।



प्रतिक्रिया दिनुहोस्: