उपराष्ट्रपति यादव द्वारा मोहम्मद जयन्तीको अवसरमा शुभकामना ब्यक्त

२०८२ भदौ १९

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भदौ २० गते शुक्रबार इस्लाम धर्मावलम्बीहरूले मनाउने मुहम्मद जयन्ती “मुहम्मद दिवस”को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सम्माननीय उपराष्ट्रपतिको बक्तब्यको पूर्णपाठ 

इस्लाम धर्मका अन्तिम ईशदूत (पैगम्बर) हजरत मुहम्मद (सल्ल.) को १५००औं (१२ रब्वी–उल–अब्वल) जन्मजयन्ती (मुहम्मद दिवस) को शुभ अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुहम्मद जयन्तीले हामी सबैलाई सत्य, सहिष्णुता, सदाचार र सामाजिक समरसताको मार्गमा अग्रसर हुन स्मरण गराउँदछ । हामीलाई करुणा, सहिष्णुता र मानवता प्रति समर्पित रहन तथा धार्मिक सद्भाव र भाइचारालाई बलियो बनाउने अवसर प्रदान गर्दछ । यो जयन्तीले मानव सभ्यतालाई शान्ति, न्याय र समानताको मूल्यमान्यतामा दृढ रहन मार्गदर्शन गर्न सकोस् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ मनाइने पर्व/जयन्ती/दिवसहरुले हाम्रो सामाजिक संरचनालाई थप सुदृढ बनाउने कार्य गर्छन् । मुहम्मद जयन्ती केवल एक धार्मिक अवसर मात्र नभई सामाजिक, सांस्कृतिक र नैतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । इस्लाम धर्मावलम्बीहरुले यो अवसरमा कुरान पाठ गर्ने, नमाज पढ्ने र प्रार्थना गर्ने लगायतका धार्मिक अनुष्ठान गरी यो जयन्ती मनाउने परम्परा रही आएको छ । यसले आत्मशुद्धि, संयम र आध्यात्मिक अनुशासनको अभ्यासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दछु ।

हजरत मुहम्मदको उपदेशहरु सत्य, करुणा, क्षमा, धैर्य र सेवाभावलाई आत्मसात गर्न यो जयन्तीले हामीलाई अभिप्रेरित गर्दछ । यसले परस्पर सहयोग, भाइचारा, एकता र समझदारीको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्दछ । साथै, गरीब, असहाय, अनाथ र विपन्न वर्ग प्रति सहानुभूति र सहयोगको भावना अभिवृद्धि गर्न टेवा पुग्दछ । जीवनमा सत्य बोल्ने, इमानदारीपूर्वक आचरण गर्ने, अरुको पीडामा साथ दिने, गल्ती क्षमा गर्ने र सहिष्णु बन्नु पर्ने सन्देश पनि यो जयन्तीले दिन्छ ।

अन्त्यमा, मुहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सन्देश फैलाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै हजरत मुहम्मदको जीवन दर्शन र उपदेशले सत्य, न्याय, सेवा र समर्पणको मार्गमा मानव समाजलाई प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु ।धन्यवाद !

प्रतिक्रिया दिनुहोस्: