काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्
प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन आज बिहान प्रधानमन्त्रीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो । उनी प्रधानमन्त्री भएपछिको यो दोस्रो चीन भ्रमण हो ।
भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।
प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्दै छन् ।
भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार सुरु गर्ने गत साता सहमति गरेको पृष्ठभूमिमा ओलीको चीन भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । भारत र चीनले गरेको सहमतिप्रति नेपालले औपचारिक रूपमा विरोध जनाइसकेको छ । यसकारण पनि सम्मेलनको साइडलाइनमा हुने उच्चस्तरीय भेटलाई नेपाली पक्षले कसरी उपयोग गर्छ भन्ने चासो सबैतिर छ ।
एससीओ बैठक १५–१६ भदौमा चीनको तियानजिन सहरमा हुँदै छ । नेपाल ‘डायलग पार्टनर’ का रूपमा एससीओमा सहभागी हुन लागेको हो । नेपाल एससीओको सदस्य राष्ट्र भने होइन । ओलीले ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्: