रवि लामिछाने बसेको कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी, कारागारको अवस्था नाजुक

२०८२ साउन २७

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रहेको रुपन्देही कारागारको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा रुपन्देहीस्थित जिल्ला कारागारभित्र आधारभूत सुविधाको अभाव देखिएको आयोगकी प्रवक्ता डा.लिली थापाले बताइन् ।आयोगले जनाएको छ । रवि  लामिछानेलाई राखिएको कोठाको झ्यालमा प्लाइउड ठोकिएको र कोठाभित्र पर्याप्त उज्यालो र हावाको अभाव भएको देखिएको डा.थापाले बताएकी छन् । सुरक्षाको कारण देखाउँदै झ्याल थुनिएको भए पनि आयोगले तत्काल उक्त प्लाइउड हटाउन कारागार प्रशासनलाई निर्देशन दिएको छ ।

प्रवक्ता थापाले लामिछानेसँग आधा घण्टा कुराकानी गरेको र उनलाई केही दिनदेखि बाहिर निस्कन नदिएको अवस्था रहेको बताएकी छन् । उनले कारागारको क्षमता २५० जनाको भए पनि त्यहाँ ६५० जना कैदीबन्दी राखिएको र अरूको अवस्था पनि नाजुक रहेको जानकारी दिएकी छन् ।

लामिछानेलाई स्थानान्तरणका लागि अदालतले आदेश दिए पनि हालसम्म स्थानान्तरण नगरिएकोमा पनि आयोगले चासो देखाएको छ।

प्रतिक्रिया दिनुहोस्: