काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् ।
बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिने बारे आफूहरूले कल्पना समेत नगरेको छलफलका क्रममा बताए ।
प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिने बारे आफूहरूले कल्पनासमेत नगरेको बताए । उनले भने, ‘देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्द्रीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नुपरेको हो ।’ ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावक र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्ति हुन्। उनले थपे, ‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनुभएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं। लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयं उहाँकै कद घटाउने काम गरेको छ।’
सो क्रममा उनले पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्: