काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता महाधिवेशन गर्ने समझदारी भएको छ ।
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान सकेपछि केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति तोक्ने र त्यतिबेला महेन्द्र राय यादव नेतृत्वको नेसपासँग एकता गर्ने समझदारी भएको हो ।
माओवादी केन्द्रसँग एकता महाधिवेशन गर्ने समझदारी भएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले बताए । माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो ।
तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै तत्कालीन पार्टी एकता कार्यदलका सदस्य गंगानारायण श्रेष्ठ अघि बढेर १२ जेठमा माओवादी केन्द्रसँग एकता घोषणा गरेका थिए । त्यतिबेला अध्यक्ष यादवले श्रेष्ठ माओवादी प्रवेश गरेको तर पार्टी एकता नभएको बताएका थिए ।
नेसपाका अध्यक्ष महिन्द्र राय यादवले माओवादी केन्द्र नाम परिवर्तन गरेर ‘कम्युनिस्ट पार्टी समाजवादी’ हुनुपर्ने धारणा राख्दै आएका छन् । यद्यपि महाधिवेशनले जे निर्णय गरे पनि त्यसलाई स्वीकार्ने यादवको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्: