रहस्यमय दरबार हत्याकाण्डको २४ वर्ष पूरा

२०८२ जेष्ठ २०

काठमाडौं । दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश नास भएको थियो ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको दरबारहत्याकाण्ड, यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।

यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

उच्च सुरक्षा घेराभित्र भएको दरवार हत्याकाण्ड अहिले पनि रहस्यमै छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भएकाे १८ वर्ष भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीहानी मारेको र पछि आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

दरबार हत्याकाण्डको तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको उक्त प्रतिवेदन रानाभाटले सार्वजनिक गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त त्यो घटनालाई ‘ग्राण्ड डजाइन’को संज्ञा नै दिएका थिए । तर त्यो हत्याकाण्डको ग्राण्डडिजाइन कसले गरेको हो भन्ने अझै रहस्यकै गर्भमा लुकेको छ ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । निधिले छानबिनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन ।अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

प्रतिक्रिया दिनुहोस्: