राष्ट्रिय युवा संघको अध्यक्षमा पुन: क्षितिज थेबे निर्वाचित

२०८२ जेष्ठ १४

पोखरा । नेकपा एमाले भातृसंगठन राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न मतगणनाबाट प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै उनी दोस्रोपल्ट अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत पाउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो ।

महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे ।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् ।

पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: