काठमाडौं । चैत १५ मा भएको राजावादीको प्रदर्शनमा अप्रत्यक्ष रूपमा संलग्न रहेकाहरूमाथि पनि आवश्यक छानबिन र कानुनी कारबाही अगाडी बढाउन प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले उक्त घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएको हो । चैत १५ को उक्त घटनाक्रमको सत्यतथ्य छानबिन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यसमा संलग्न व्यक्तिहरूमाथि आवश्यक छानबिन र कानुनी कारबाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
१५ चैतको आन्दोलन पूर्वाराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको संसदीय समितिमा नै कुरा उठेको थियो । त्यस्तै, आगामी दिनमा यस्ता खालका हिंसात्मक घटना दोहोरिनबाट रोक्न एवम् संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
तीनकुने आसपासको क्षेत्रमा आगामी दिनमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेट व्यवस्थापन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौंको तीनकुनेम चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरूले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति राज्यव्यवस्था तथा सुशासन समितिको यो बैठक खेद प्रकट गर्दछ । उक्त घटनाका दोषीहरूउपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन गर्दछ ।’



प्रतिक्रिया दिनुहोस्: