तीनकुनेमा राजावादीको प्रदर्शन, प्रहरीसँग झडप, स्थिति तनावग्रस्त

२०८१ चैत्र १४

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई आन्दोलनमा कमाण्डरको जिम्मा दिएको हो । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए । राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: