वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिका कारण देश बर्बाद हुनलागेको बताउँदै अब देशलाई राजसंस्था आवश्यक भएको बताएका छन् ।
अध्यक्ष लिङ्देनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताए । अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए।
शनिबार वीरगन्जमा आयोजित समारोहलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योग धन्दाहरू बेचेर खाए । कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई ललकार्दै छन् । राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरुसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशले राजा खोजेको हो । राजा राजनीतिक दल भन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो ।’



प्रतिक्रिया दिनुहोस्: