मुलुकको शासन गर्नका लागि निर्वाचन बाट आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री ओलीको चुनौती

२०८१ फाल्गुन २२

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

महोत्तरीमा बिहीबार भएको कार्यक्रममा उनले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न पूर्वराजा शाहलाई चुनौती दिएका हुन् ।

उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको उल्लेख गर्दै कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो ? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्,’ उनले भने, ‘पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् ।’

छायाँ अघि सारेर नभइ आफैं राजनीतिक दल खोलेर निर्वाचन लड्न उनको चुनौती छ । ‘तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि !

नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् ।’

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए ।

उनले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै आफू मधेश विरोधी नभएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्: