बोर्डर आउट पोस्टको संख्या ४२५ पुर्‍याउन सशस्त्रले गृहसँग माग गर्यौ

२०८१ माघ ९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी)को संख्या ४२५ पुर्‍याउन माग गर्दै गृह मन्त्रालयमा कार्य योजना पेश गरेको छ ।

भारत तर्फका सीमा नाकामा २४४ र चीनतर्फका सीमानाकामा १० गरी अहिले सशस्त्रका २५४ बोर्डर आउट पोस्ट छन् । सीमा सुरक्षालाई थप मजबुद बनाउन सीमा लक्षित कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी प्रधान कार्यालयले ४२५ बोर्डर आउट पोष्टको  कार्ययोजना गृह मन्त्रालयमा पेश गरेको हो ।

यसलाई बढाउँदै ४२५ बीओपीको संख्या पुर्‍याउनु पर्ने माग गर्दै मन्त्रालयमा योजना पेश गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । जसमध्ये अहिले ८ वटा बीओपी स्थापना हुने क्रममा रहेका छन् ।

सीमा सुरक्षाकै लागि भन्दै सशस्त्र प्रहरीले ४५ वटा स्थानमा प्रस्तावित सीमा सुरक्षा गुल्मको स्थापना गरेको छ । त्यसैगरी, सीमावर्ती जिल्लामा सूचना सन्यन्त्र मजबुद बनाउन इन्टर अफिसर परिचालन समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा जडित सी सी क्यामेराको संख्या पनि थप गर्दै लगिने कार्ययोजना रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले बीओपीको संख्या थप गर्दै सीमा सुरक्षा गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: