मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

२०८१ माघ ५

जनकपुरधाम । प्रथम मधेश आन्दोलनको आज १८ वर्ष पूरा भएको अवसरमा मधेश केन्द्रित दल र मधेश सरकारले आज विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदैछन् ।

मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतो सहादत भएपछि प्रथम मधेश आन्दोलनको शंखनाद भएको थियो ।

आजको दिन रमेश महतोको सहादत भएको र आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेश प्रदेश सरकार र मधेश केन्द्रीत दलहरु बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

बलिदानी दिवस मधेश सरकारले आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा बलिदानी दिवस मनाउँदै छ ।

गृह संचार तथा कानुन मन्त्रालयअन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले आयोजनामा सातौं बलिदानी दिवस मनाउन लागेको हो । त्यस कार्यक्रमको रुपमा प्रमुख अतिथि मुख्यमन्त्री सतिशकुमार छन् भने मधेश सरकारका मन्त्री, सचिव तथा मातहतका निकायको उपस्थिति रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: