आज पनि सकिएन थुनछेक बहस, रवि अझै कम्तीमा दुई दिन हिरासतमा रहने

२०८१ पुस २९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता र ९ जना सरकारी वकिलले बहस गरे । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले लामिछानेको पीडितको तर्फबाट बहस गरेका थिए ।

यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

आजको थुनछेक बहसमा भने सरकारवादी वकिलहरु सबैले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरे । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क थियो ।

मंगलबार सार्वजनिक बिदा भएकाले मुद्दाको अर्को सुनुवाइ बुधबारमात्रै हुनेछ । त्यतिबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । तर आइबार थुनछेक बयान मात्रै भएपछि न्यायाधीश अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: