नेपाललाई हिन्दूराष्ट्र बनाउन भारतको दबाब, पूर्वराजाको भारतिय सुरक्षा सल्लाहकार र योगी आदित्यनाथसँग भेट

२०८१ पुस २३

काठमाडौं। संविधान संशोधन गर्ने तयारी गरिरहेको सत्ता गठबन्धनलाई संविधानमै नेपाललाई हिन्दूराष्ट्र कायम गर्नेगरी संशोधन गर्न भारतले दबाब दिएको गाइँगुइँका बीच पूर्वराजा ज्ञानेन्द्र शाहले भारत सरकारका महत्वपूर्ण पात्रहरुसँग भारतमै भेटघाट गरेका छन् ।

पश्चिमी नेपालको तराइ भ्रमणमा गएका पूर्वराजा अचानक भारत गएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजिल डोभाल र मोदीका विश्वासपात्र तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेंट गरेका हुन्। यी दुवै पात्रहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै निकट र विश्वासिला मानिन्छन्।

भारतको गुप्तचर एजेन्सी इन्टेलिजेन्स ब्युरोका पूर्व प्रमुख समेत रहेका डोभाल विगत १० वर्षदेखि राष्ट्रिय सुरक्षा सल्लाहकार छन्। उनलाई प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री भएपछि २०१४ मा सुरक्षा सल्लाहकार बनाएका थिए र उनी हालसम्म सोही पदमा कार्यरत छन् । भने अर्का पात्र हुन् उत्तर प्रदेशको मुख्यमन्त्री आदित्यनाथ भारतीय जनता पार्टीको हिन्दू कट्टरपन्थी धारका प्रमुख अनुहार मानिन्छन्। भारतको राजनीतिका जानकारहरुले उनलाई भाजपाभित्र प्रधानमन्त्री पदका लागि मोदीको उत्तराधिकारी समेत मान्छन्। उनी २०१७ देखि उत्तर प्रदेशको मुख्यमन्त्री छन्। भारतीय जनता पार्टी आफैंमा कट्टर हिन्दूवादी दर्शन मान्ने पार्टी हो। पश्चिमी देशहरु र खासगरी अमेरिकाले समेत भाजपालाई भारतमा हिन्दू अतिवाद फैलाएको र धार्मिक अल्पसंख्यकमाथि दमन गरेको आरोप लगाउने गरेका छन्।

भारतिय जनता पार्टीले नेपाललाई हिन्दू राष्ट्र बनाउने लाइनमा धेरै पहिलेदेखि सक्रिय छ । र, यो पृष्ठभूमिमा हिन्दू धर्मको प्रतीक मानिने पूर्वराजाले भाजपाका प्रमुख पात्रहरुसँग भेटघाट गर्नुलाई महत्वपूर्ण मानिएको छ ।

३० गते असारमा प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन । भारतले नबोलाएको झोंकमा ओली चीनको राजकीय भ्रमण गरेर फर्किसकेका छन्। चीनबाट फर्किएको केही दिनपछि ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री आरजू राणा देउवा भारत गएकी थिइन्।

परराष्ट्रमन्त्री आरजु देउवाले एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन भारत गएको बताइएको भए पनि उनको भ्रमणको महत्वपूर्ण उद्देश्य प्रम ओलीको भ्रमणको वातावरण मिलाउनु समेत रहेको बताइन्छ । यद्यपि उनलाई भारतले धेरै महत्व नदिएको पनि चर्चा छ । उनको भ्रमणको क्रममा भारतको संस्थापन पक्षले उनीमार्फत नेपालका प्रमुख दलका नेताहरुलाई संविधानमै नेपाललाई हिन्दू राष्ट्र (लेख्न) कायम गर्न दबाबमूलक सन्देश पठाएको स्रोत बताउँछ । एमाले र कांग्रेसले सरकार गठन गर्नुपूर्व सहकार्यका लागि सहमति गर्दा संविधानका केही प्रावधानहरु संशोधन गर्ने सहमति गरेका थिए ।

यही पुसको पहिलो हप्ता सरकारको काम कारवाहीलाई अगाडि बढाउन गठित कार्यदलको बैठकमा संविधान संशोधनको लागि समेत कार्यदल बनाउने छलफल भएको थियो। त्यसैको सेरोफेरोमा भारतले पनि संविधान संशोधन गर्ने कार्यदलका एजेण्डामा हिन्दूराष्ट्रको एजेण्डा पनि समावेश गर्न दबाब दिएको बताइन्छ ।

स्रोतका अनुसार भारतको चाहना अनुसार संविधान संशोधनका एजेण्डा तय गरिएमा प्रधानमन्त्रीको भारत भ्रमणको बाटो पनि सहज हुने सन्देश भारतले परराष्ट्रमन्त्रीमार्फत पठाएको छ ।

दुई देशबीचको सम्बन्ध चिसिएको बेला भारतले नेपालको संविधानमा आफ्ना एजेण्डा समावेश गराउनको लागि दबाबपूर्ण खेल खेलेको स्रोत बताउँछ। भारतले नेपालमा २०७२ सालमा पनि अहिलेको संविधान लागू गर्नबाट रोक्ने प्रयास गरेको थियो ।

यस्तो पृष्ठभूमिमा पूर्वराजाको भ्रमण, उनका महत्वपूर्ण भेटघाट र भारतीय चासोले ठूलो परिवर्तनको संकेत गरेको राजावादीहरुले दाबी गरेका छन्। १७ मंसिरमा काठमाडौंबाट नेपालगञ्ज गएका पूर्वराजाको दाङमा विशेष कार्यक्रम सम्पन्न भइसकेको छ, भने अब भैरहवामा पनि विशेष अभिनन्दनको कार्यक्रम हुने पूर्वराजा निकट स्रोतले बताएको छ ।

पूर्वराजा नेपालगञ्ज रहेका बेलामा नेपालगञ्जको बागेश्वरी मन्दिर, राप्ती सोनारीको भुवरभुवानी मन्दिरसँगै दाङ र बर्दिया जिल्लाको भ्रमण गरिसकेका छन् । पूर्वराजासँगै नेपालगञ्जमा पूर्वरानी कोमल तथा छोरीहरुसमेत रहेको स्रोतले जनाइएको छ। हाल उनि भारत भ्रमणबाट नेपालगञ्ज आएको एकजना राजाबादी नेताले बताए ।

भारतको लखनउमा भएको भ्रमण निकै नै फलदायी भएको दाबी गरिएको छ । पूर्वराजाको भारत बसाई पनि लामो नै रह्यो। पूर्वराजा टोलीसहित पुस ७ गते भारत गएर १९ गते नेपालगञ्ज फर्किएका हुन् । पूर्वराजाको लखनउ बसाई नेपाली राजनीतिमा तरंग ल्याउने किसिमले नै फलदायी भएको दाबी गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदी नेपालको अहिलेको सत्ता समीकरणसँग सन्तुष्ट छैनन्। लोकतन्त्र आएपछि नै नेताहरु भारतलाई पेल्ने शैलीमा चीनतिर नजिक भएजस्तो गरी भ्रम छर्न खोजेको प्रति मोदी असन्तुष्ट बनेका हुन् ।

विश्वस्त सूत्रका अनुसार नेपालबाट राजसंस्था फाल्नु नै दुर्भाग्य भएको बुझेका मोदी पूर्वराजासँगै उनका दूतहरुसँग गम्भीर छलफल अगाडि बढाएका छन् । भुटानले पूर्व राजालाई भव्य स्वागत गरी राजकीय हसियतमा सम्मान दिनु मोदीकै निर्देशनमा भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्: