स्थानियतह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

२०८१ मंसिर १६

काठमाडौं । स्थानियतहको रिक्त ४१ स्थानमा आइतबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी गराएको छ ।

आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो।

उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकोमा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: