काठमाडौं । स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले निर्वाचनको सुरक्षालाई सामान्य रुपमा नलिन समेत आग्रह गरे ।
३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ, सुरक्षाका कारण पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुने गृहमन्त्री लेखकले भने ।
लोकतन्त्रको आधारस्तम्भ भनेकै निर्वाचन हो, त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस्। निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्नसक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै गृहमन्त्री लेखकले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने अवस्था सिर्जना नहुने आग्रह गरे ।
त्यसैगरी गृहसचिव गोकर्णमणी दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिए । वैदेशिक रोजगारीका नाममा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रण लगायतका विषयमा पनि ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।
बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरूको सेमत सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्: