काठमाडौं । अहिले साँझ बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
मन्त्रिपरिषद् बैठक स्थगित भएपछि अहिले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सोमबार पनि छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा संवाद सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
शीर्ष तहको यो छलफलमा अहिले कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी छन् । भने एमालेबाट प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमाल लगायत सहभागी छन् ।
सोमबारको छलफलमा मन्त्रिपरिषद्का सदस्यहरू फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र महत्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेकाले बीआरआईबारे साझा धारणा बनाउने कोसिसमा दुई दलका शीर्ष नेता जुटेका छन् ।
कांग्रेसले बीआरआईलाई ऋण नभएर अनुदानमा परिणत गरेर अघि बढाउनुपर्ने मत छन् । तर एमालेले भने अन्य दातृ निकायले दिएकै दरमा ऋण दिए भए पनि बीआरआई अघि बढाउन लचिलो हुनुपर्ने मत राखेको छ ।
सोमबारको बैठकमा कमजोर नतिजा भएका मन्त्रिपरिषद्का केही सदस्यहरू हेरफेरबारे पनि दुई नेता बीच कुरा भएको बताइएको छ । कांग्रेस र एमाले दुवै दलले मन्त्रीहरू परिवर्तन गर्ने तयारीसहित छलफलमा छन् ।
मंगलबार अपरान्ह देउवा र ओली बीच एक्ला एक्लै सम्वादपछि शीर्ष तहका अन्य नेता पनि बालुवाटारमा जुटेका छन् । मंगलबार नै सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका थिए । सोमबार गृहमन्त्री रमेश लेखक पनि बूढानीलकण्ठ पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्: