निर्वाचन आयोगले सरकारलाई दिए ७ बुँदे निर्देशन

२०८१ मंसिर ३

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सुरक्षाबारे निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको हो । निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा गठित उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले उक्त निर्देशन दिइएको हो।

निर्वाचन आयोग ऐन २०७३ को दफा ४ बमोजिम निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट आयोगमा पेस भएको सुरक्षा प्रबन्ध सहितको उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी उपनिर्वाचन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगले सरकारलाई भनेको छ ।

त्यसैगरी उपनिर्वाचन हुने ३३ जिल्लाका ४४ स्थानीय तहमा मंसिरमा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न सो सम्बन्धित जिल्लाहरूमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।

मंसिर ५ गतेदेखि १६ गते उपनिर्वाचन सम्पन्न भएर मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा नियन्त्रण गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा प्रचार प्रसारका लागि पनि समयावधि तोकेको छ । मंसिर १३ गते राती १२ः०० बजेदेखि लागु हुने उपनिर्वाचन प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने उपनिर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

आयोगले मतदानका दिन मतदान सकिएपछि सोही दिन मतपत्र सहितका मतपेटिकाहरू सुरक्षित तवरले मतगणना स्थलसम्म ढुवानी र आवश्यक सुरक्षा गर्ने व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

साथै निर्वाचनका दिन सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनमा उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको आयोग प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्: