काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएको कार्यालयमा हाजिर नहुने कर्मचारीहरूको सूची बनाउन थालेको छ ।
विवरण संकलन पछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताए ।
मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नहुने क्रम बढेको छ । यस्ता कर्मचारीहरुको नामावली सहितको विवरण संकलन थालिएको मन्त्री गुप्ताले बताए ।
मन्त्रालयले ताकेता गर्न छोडेर उनीहरूको विवरण सङ्कलन गरिरहेको उनले बताए । खटाएको ठाउँमा गएपनि हाजिर गर्न नदिने स्थानीय तहमाथि पनि कारबाही गर्ने उनको भनाइ छ ।
हामीले सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइ सक्नु भएको छ । तर, केही कर्मचारीले मात्रै विभिन्न बाहानाबाजी गरेर हाजिर गर्नुभएको छैन । उहाँहरूलाई तोकिएको कार्यालयमा हाजिर गर्न हामीले पटक–पटक ताकेता पनि गरिरहेका छौं’, मन्त्री गुप्ताले भने ।
जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा पालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको मन्त्री गुप्ताले बताए ।



प्रतिक्रिया दिनुहोस्: