बारा कलैया । राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तर्गत बारा जिल्लामा खटिएका ६६ जना गणक र ९ जना सुपरिवेक्षकलाई प्रमाणपत्र वितरण तथा सम्मान गरिएको छ।
जिल्ला आर्थिक गणना कार्यालय, बाराद्वारा शनिबार आयोजित कार्यक्रममा गणना कार्य सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याएका गणक तथा सुपरिवेक्षकलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले राष्ट्रिय आर्थिक गणना-२०८२ जस्तो महत्त्वपूर्ण अभियानलाई सफल बनाउन गणक तथा सुपरिवेक्षकहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। उनले प्रतिकूल मौसम, समयको चाप तथा विभिन्न चुनौतीका बीच पनि जिम्मेवारीपूर्वक कार्य सम्पादन गरी गणना अभियानलाई सफल बनाउन सबैले उल्लेखनीय योगदान दिएको उल्लेख गरे।
जिल्ला आर्थिक गणना अधिकारी दासका अनुसार नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा “अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय आर्थिक गणना-२०८२ देशभर २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क सङ्कलन गरिएको थियो। उनका अनुसार बारा जिल्लामा २१ हजार ६९७ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणना मुलुकका आर्थिक प्रतिष्ठानको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानको विवरण संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
यसबाट प्राप्त तथ्याङ्क सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्: