एक्काशी हतारहतारमा सार्वजनिक शोकविदा दिने सरकारकाे निर्णय

२०८१ मंसिर ३

काठमाडौं । सरकारले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा आज देशभर सार्वजनिक शोकविदा दिने निर्धणय गरेको छ

धेरैजसो सरकारी कर्मचारीहरु आज बिहान कार्यालय प्रस्थान गरिसकेका थिए । कतिपय कार्यालयमै पुगिसकेका थिए । विद्यालयहरु त बिहानै देखि खुलिरहेकै थिए ।

बैंक तथा अन्य निजी सार्वजनिक संस्थाका  कर्मचारीहरु आउने क्रम जारी थियो । तर, आज बिहान सरकारले एक्कासी देशभर सार्वजनिक बिदा दिने निर्णय गर्‍यो ।

बिहान नौ बजे बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने भनेर निर्णय गर्‍यो ।

यो निर्णय सार्वजनिक हुँदा कर्मचारीहरुमा अलमल देखियो । कर्मचारी कार्यालय पुगेर काम सुरु गरिसक्दा सरकारको बिदासम्बन्धी निर्णय सार्वजनिक भएपछि खुलिसकेका कार्यालय बन्द हुन पुगे । आइसकेका कर्मचारीलाई काममा लगाउने कि खुलेका कार्यलय बन्द गरेरै भए पनि सरकारको निर्णय मान्ने भन्ने अन्यौल देखिन्थ्यो ।

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको छ।

“पूर्वसभामुख ढुङ्गानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ”, प्रवक्ता गुरुङले भने, “राष्ट्रिय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।”

प्रवक्ता गुरुङले पूर्वसभामुख ढुङ्गानाले नेपालको संसदीय प्रणालीलाई व्यवस्थित बनाउन खेलेको भूमिकाको बैठकले कदर गरेको उल्लेख गर्दै उनको निष्ठा र आदर्शलाई आत्मसम्मान गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । बैठकले ढुङ्गानाको निधनप्रति गहिरो दुःख शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। उनको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: