ओली र लेखकलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

२०८२ चैत्र २३

२३ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथी २५ गते सम्म अनुसन्धान गरिसक्न परमादेश दिएको छ ।

सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गतेपछि थुनामुक्त गर्न परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो।

काठमाडौँ जिल्ला अदालतबाट पछिल्लो पटक थपिएको ५ दिनको म्याद २५ गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान सकेर वा म्याद सकिए लगत्तै उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश छ ।

अदालतले उनीहरूलाई पक्राउ गरिएको प्रक्रिया र म्याद थपलाई ’कानुन सम्मत’ नै भएको र बन्दीप्रत्यक्षीकरणको आदेश जारी नभए पनि मानवीय र विशिष्ट परिस्थितिका कारण थुनामै राखेर अनुसन्धान गरिरहनु नपर्ने सर्वोच्चको ठहर छ।

उनीहरूलाई रिहा गर्नुपर्नेमा अदालतले ओली र लेखक दुवै अहिले आफ्ना माता–पिताको निधन पश्चात्को जुठो बारिरहेको र केपी शर्मा ओली गम्भीर बिरामी भई शिक्षण अस्पतालमा उपचाररत रहेको विषयलाई प्रमुख आधार मानेको छ ।

बयान कार्य लगायतका मुख्य अनुसन्धान सम्पन्न भइसकेको देखिएकाले उनीहरूलाई हिरासत बाहिरै राखेर थप अनुसन्धान अघि बढाउन सकिने अदालतको राय छ ।

भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: