चैत्र २१, वीरगञ्ज । श्री हनुमान जन्मोत्सवको पावन अवसरमा आज शनिबार वीरगञ्जमा भव्य तथा ऐतिहासिक शोभा यात्रा सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्जको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि भव्य रूपमा शोभा यात्रा निकालिएको हो।
दिउँसो २ बजे वीरगञ्जको घण्टाघरबाट सुरु भएको शोभा यात्रा माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमर चौक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल तथा गहवा हुँदै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो ।
शोभा यात्रामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट निकालिएका बाजागाजा सहितझाँकी तथा टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। हजारौंको संख्यामा भक्तजनहरू सहभागी भई धार्मिक आस्था, भक्ति र उत्साह प्रकट गरेका थिए।
कार्यक्रमलाई सभ्य, मर्यादित र व्यवस्थित बनाउन करिब २ हजार स्वयंसेवक परिचालन गरिएको आयोजकले जनाएको छ। साथै, शोभा यात्राको सुरक्षा व्यवस्थापनका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा नेपाल प्रहरी,सशस्त्र प्रहरीबल एवं सुरक्षा निकायहरूले विशेष सतर्कता अपनाएका थिए।
पर्सा जिल्लाभर रहेका विभिन्न हिन्दू संघसंस्था, क्लब तथा धार्मिक संस्थाहरूले समेत आ–आफ्नो क्षेत्रमा शोभा यात्रा निकाल्दै हनुमान जन्मोत्सव भव्य रूपमा मनाएका छन्।
गर्मी मौसमलाई मध्यनजर गर्दै सहभागी भक्तजनहरूको सुविधाका लागि यात्राका विभिन्न स्थानहरूमा खानेपानी, चिसो पानी, जुस तथा बिस्कुट लगायतका सामग्रीहरूको व्यवस्था गरिएको थियो।समग्रमा, यस वर्षको हनुमान जन्मोत्सव वीरगञ्जमा भव्य, शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।



प्रतिक्रिया दिनुहोस्: