काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा आज गठन हुने राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारले इतिहासमै पहिलो पटक मन्त्रिपरिषदमा समेत ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भएको छ ।
यसअघि संघीय संसद सम्म ३३ प्रतिशत महिला सहभागिता गराइने संवैधानिक व्यवस्था भए पनि मन्त्रिपरिषद्मा यस्तो कहिल्यै भएको थिएन । यसअघिका सबैजसो मन्त्रिपरिषद् पुरुष बाहुल्य हुन्थे र थोरै मात्र महिलाको सहभागिता हुन्थ्यो ।
यस पटक बालेन सरकारमा भने प्रधानमन्त्रीसहित १५ जना सदस्य हुने भएका छन् । संविधानमा प्रधानमन्त्रीसहित २५ जनासम्मको मन्त्रिपरिषद बनाउन ब्यवस्था भए पनि रास्वपाले मन्त्रालय गाभेर मन्त्रीको संख्या घटाएको छ । प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषदमा ३३.३३ प्रतिशत अर्थात ५ जना महिला मन्त्री हुनेछन् ।
रास्वपाले सोविता गौतमलाई कानूनमन्त्री बनाउँदैछ । यसअघिको प्रतिनिधिसभामा समेत सांसद रहेकी गौतम कानूनकी विद्यार्थी र अधिवक्ता हुन् । उनले कानूनमा स्नातक गरेकी छिन् ।
यस्तै प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बन्ने भएकी छिन् । एक दशकभन्दा लामो समय संचारकर्मीको रुपमा काम गरेकी उनले स्नातकोत्तर गरेकी छिन् । रास्वपाले गीता चौधरीलाई कृषिमन्त्री बनाउने भएको छ । उनी कानूनकी विद्यार्थी र अधिवक्ता हुन् । उनले कानूनमा स्नातक गरेकी छिन् ।
रास्वपाले सीता वादीलाई महिला बालबालिका मन्त्री बनाउने भएको छ । वादी समुदायबाट पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने उनी समाजसेवामा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर हुन् । यस्तै निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइने भएको छ । नर्सिङमा स्नातकोत्तर गरेकी उनी व्यवसायिक नर्स हुन् ।



प्रतिक्रिया दिनुहोस्: