नेपाल आज यस्तो मोडमा उभिएको छ, जहाँ आशा र निराशा, चुनौती र सम्भावना एकैसाथ देखिन्छन्। विगत तीन दशक देखि देशले ठूलो राजनीतिक परिवर्तन अनुभव गरेको छ। राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, नयाँ संविधान र संघीय शासन प्रणालीको कार्यान्वयनले नेपालको राजनीतिक संरचनालाई नयाँ दिशातर्फ अघि बढाएको छ। तर राजनीतिक परिवर्तनले अपेक्षित आर्थिक समृद्धि र सामाजिक रूपान्तरण तुरुन्तै ल्याइदिन्छ भन्ने आशा पूरा हुन भने अझै सकेको छैन। यही कारणले आज धेरै नेपालीहरूका मनमा एउटा प्रश्न उठिरहेको छ, नेपाल वास्तवमै कहाँ जाँदैछ?
नेपालका चुनौतीहरू धेरै छन् र ती कुनै एक क्षेत्रमा मात्र सीमित छैनन्। सबैभन्दा पहिले आर्थिक अवस्थातर्फ हेर्दा देशको अर्थतन्त्र अझै पनि आयातमुखी संरचनामा निर्भर देखिन्छ। देशभित्र उत्पादनको गति सुस्त हुँदा दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक सामग्रीसम्म ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। परिणामस्वरूप व्यापार घाटा निरन्तर बढिरहेको छ।
रोजगारीको अवसर पर्याप्त नहुँदा लाखौं नेपाली युवा वैदेशिक रोजगारीको खोजीमा विदेशिन बाध्य भएका छन्। वैदेशिक
रोजगारीबाट आउने विप्रेषणले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण सहयोग गरेको भए पनि यो दीर्घकालीन समाधान भने होइन। देशभित्र उत्पादनशील क्षेत्रको विस्तार बिना दिगो आर्थिक विकास सम्भव हुँदैन।
यसका अतिरिक्त विकास परियोजनाहरूको ढिलाई, पुँजीगत बजेट खर्चमा हुने कमजोरी तथा प्रशासनिक प्रक्रियाको जटिलताले पनि आर्थिक विकासलाई अपेक्षित गति दिन सकेको छैन। भ्रष्टाचार र कमजोर सुशासनका कारण पनि विकास प्रति जनविश्वास कहीँ न कहीँ कमजोर भएको देखिन्छ।
नेपालका चुनौतीहरू आर्थिक क्षेत्रमा मात्र सीमित छैनन्, सामाजिक क्षेत्रमा पनि थुप्रै जटिलताहरू छन्। शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार भएपनि अझै पनि गुणस्तरीय सेवा सबै नागरिक सम्म समान रुपमा पुग्न सकेको छैन। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरु अझै पनि आधारभूत सेवाका लागि संघर्ष गर्नुपर्ने अवस्थामा छन्।
युवाहरूको बढ्दो पलायन अर्को गम्भीर चिन्ताको विषय बनेको छ। राम्रो शिक्षा र रोजगारीको खोजीमा विदेशीने युवाहरूको संख्या दिनानुदिन बढिरहेको छ। यसले देशभित्र दक्ष जनशक्तिको अभाव मात्र होइन, दीर्घकालीन विकासको आधारलाई पनि कमजोर बनाउने खतरा पैदा गरेको छ।
राजनीतिक र प्रशासनिक क्षेत्रका चुनौतीहरू पनि कम गम्भीर छैनन्। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तन स्वभाविक मानिए पनि अत्याधिक राजनीतिक अस्थिरताले नीतिगत निरन्तरतामा समस्या सिर्जना गर्ने गरेको छ। विकास योजन हरु घोषणा हुने तर कार्यान्वयनमा ढिलाई हुने प्रवृत्ति पनि यसैसँग जोडिएको देखिन्छ।
संघीय शासन प्रणालीले शासनलाई नागरिक नजिक ल्याउने अपेक्षा गरिएको थियो। धेरै क्षेत्रमा सकारात्मक परिवर्तनहरू पनि देखिएका छन्। तर संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट समन्वय अझै मजबुत बनाउनुपर्ने आवश्यकता देखिन्छ। प्रशासनिक प्रक्रियालाई सरल र प्रभावकारी बनाउनु पनि उत्तिकै आवश्यक छ।
पर्यावरणीय चुनौतीहरू पनि अहिलेको नेपालका लागि महत्वपूर्ण मुद्दा बनिरहेका छन्। जलवायु परिवर्तनको प्रभाव हिमालदेखि तराईसम्म अनुभव गर्न थालिएको छ। बाढी, पहिरो, सुखा तथा अन्य प्राकृतिक विपतहरूले जनजीवन र विकास प्रक्रियामा प्रत्यक्ष असर पुर्याइरहेका छन्। वातावरणीय सन्तुलन जोगाउँदै विकासलाई अघि बढाउने चुनौती पनि आजको नेपालकाे सामु उभिएको छ।
यद्यपि यी सबै चुनौतीहरूको बीचमा नेपालसँग अपार सम्भावनाहरु पनि छन्। प्राकृतिक स्रोतका दृष्टिले नेपाल निकै समृद्ध देश हो। विशेषगरी जलस्रोतको
प्रचुरताले जलविद्युतीय विकासको ठूलो अवसर प्रदान गरेको छ। ऊर्जा उत्पादन र निर्यातको माध्यमबाट नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने सम्भावना बारम्बार उल्लेख हुँदै आएको छ।
पर्यटन क्षेत्र पनि नेपालको अर्को महत्वपूर्ण शक्ति हो। विश्वकै अग्ला हिमालहरू, अद्वितीय प्राकृतिक सौन्दर्य, विविध सांस्कृतिक र धार्मिक सम्पदाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्य बनाएको छ। यदि पर्यटन पूर्वाधारलाई व्यवस्थित रुपमा विकास गर्न सकियो भने यसले लाखौं रोजगारी सिर्जना गर्न सक्छ।
नेपालको सबैभन्दा ठूलो शक्ति भनेको यहाँको युवा जनसङ्ख्या हो। ऊर्जा, सृजनशीलता र उद्यमशीलताले भरिएका युवाहरू सही अवसर पाएमा देशको विकासको प्रमुख चालक शक्ति बन्न सक्छन्। आज धेरै नेपाली युवाहरू विदेशमा अध्ययन र काम गरिरहेका छन्। उनीहरूले आर्जन गरेको ज्ञान, अनुभव र पुँजीलाई देशभित्र प्रयोग गर्न सकियो भने यसले विकास प्रक्रियामा ठूलो योगदान दिन सक्छ।
भौगोलिक दृष्टिले पनि नेपाल विशेष स्थानमा अवस्थित छ। दुई ठूला आर्थिक शक्तिहरू भारत र चीनको बीचमा रहेको नेपाल क्षेत्रीय व्यापार, पारवहन र आर्थिक सहकार्यको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना राख्छ। सडक, रेल र हवाई कनेक्टिभिटी विस्तार मार्फत नेपालले आफ्नो भौगोलिक अवस्थिति लाभदायक रुपमा प्रयोग गर्न सक्छ।
नेपालको सामाजिक र सांस्कृतिक विविधता पनि एउटा महत्त्वपूर्ण शक्ति हो। विभिन्न भाषा, संस्कृति र परम्पराहरूले नेपालको समाजलाई समृद्ध बनाएका छन्। यही विविधता र सहिष्णुताले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाएको छ।
यस अवस्थामा मुख्य प्रश्न के हो भन्दा, यी चुनौतीहरूलाई अवसरमा कसरी रूपान्तरण गर्ने? यसको उत्तर सुशासन, स्पष्ट नीति र सामूहिक प्रतिबद्धतामा निहित छ। भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र उत्तरदायित्वको संस्कृति विकास गर्नु पहिलो आवश्यकता हो।
त्यसैगरी लगानी मैत्री वातावरण सिर्जना गरेर उत्पादन क्षेत्रलाई प्रोत्साहन दिनुपर्छ। शिक्षा प्रणालीलाई आधुनिक प्रविधि र सीपसँग जोडेर युवाहरुलाई रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउन सकिन्छ।
दिगो विकासको अवधारणालाई ध्यानमा राख्दै प्राकृतिक स्रोतहरूको संरक्षण र उपयोग बीच सन्तुलन कायम गर्नु पनि अत्यन्त आवश्यक छ। संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउँदै तीन तहका सरकारबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने देखिन्छ।
नेपालका चुनौतीहरू गम्भीर छन्, तर ती असम्भव भने होइनन्। इतिहासले देखाएको छ, नेपालले कठिन परिस्थितिहरू पार गर्दै अघि बढ्ने क्षमता राख्दछ। आवश्यक कुरा सही दिशा, दृढ नेतृत्व र जनसहभागिता हो।
यदि राष्ट्रको स्रोत, नीति र जनशक्तिलाई सही तरिकाले परिचालन गर्न सकियो भने नेपाल केवल सम्भावनाको देश मात्र होइन, सफलताको उदाहरण बन्न सक्छ। आजको आवश्यकता निराशा होइन, यथार्थ परक सोच र भविष्य प्रति दृढ आशा हो। चुनौतीहरूलाई अवसरमा बदल्ने सामूहिक संकल्प नै नेपालको समृद्ध भविष्यको आधार बन्न सक्छ।



प्रतिक्रिया दिनुहोस्: