रवि र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन सम्वाद

२०८२ फाल्गुन २५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र रास्वपा वरिष्ठ नेता बालेन्द्र (वालेन)शाहसँग टेलिफोनमार्फत सम्वाद गरेका छन्।

प्रधानमन्त्री मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् ।

उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त गर्दै आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट गरेका छन् । साथै उनले भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

नेपालमा हालै सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्रीले पार्टीका शीर्ष नेतासँग टेलिफोन वार्ता गर्दै  मोदीले भारत र नेपालबिचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । उनले दुवै देशले संयुक्त प्रयास मार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा व्यक्त गर्दै बधाई दिएका हुन् ।

मोदीलाई रास्वपा सभापति रवि लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गर्दै धन्यवाद दिएका छन्। रास्वपाले अघि सारेको विकास कुटनीतिलाई प्राथमिकता दिइने तथा दुई देशबीच पारस्परिक सम्मान र साझा समृद्धिकालागि मिलेर काम गर्ने लामिछानेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्: