काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गरेकी छिन्
आज बिहीबार देशभरि सफल भएको मतदानको पहिलो जस प्रथम नेपाली महिला प्रधानमन्त्री तथा प्रधान्यायाधीश सुशीला कार्कीलाई जान्छ।
सिंगो देश जलिरहेको, निर्वाचित प्रधानमन्त्री पदीय जिम्मेवारी छाडेर सेनाको शरणमा गइसकेको र पूरै मुलुक नेतृत्वविहीन भएको अवस्थामा देशलाई निकास दिने गहन जिम्मेवारी काँधमा बोकेर प्रधानमन्त्रीको कुर्सीमा बसेकी कार्कीले आफ्नो प्रमुख जिम्मेवारी पूरा गरेकी छिन्। देशमा शान्तिपूर्ण रुपमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ।
अब मतगणना सुरु गर्ने तयारी छ। मतगणना सकिएसँगै नयाँ प्रतिनिधि सभाको गठन हुनेछ । प्रतिनिधि सभाले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै कार्कीको जिम्मेवारी औपचारिक रुपमा सम्पन्न हुनेछ। नयाँ प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेसँगै प्रधानमन्त्री कार्कीले औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरेर विदा लिने छिन्। र, त्यो क्षणमा उनको नाम नेपालको इतिहासमा स्पर्णिम अक्षरले सफल प्रधानमन्त्रीमा रूपमा लेखिनेछ ।
देशको विषम परिस्थितिमा कार्की प्रधानमन्त्री बन्दै गर्दा उनले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नेमा धेरै तिरबाट शंका गरिएको थियो। देशमा प्रमुख राजनैतिक दलहरुले उनलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न समेत मानिरहेका थिएनन् ,एकातिर आन्दोलनरत पक्षको चर्को दबाब र अर्कोतिर देशका संगठित राजनैतिक शक्तिको चरम असहयोगको चेपुवामा परेकी उनले एक–दुई पटक मुखै खोलेर भनेकी थिइन् – ‘म त हैरान भइसकें ।’
निरन्तर आइरहेका दबाबले उनी दिक्दार त पक्कै भएकी थिइन् तर हार मानेकी थिइनन् । उनी हार मान्ने पक्षमा समेत थिइनन् । राजनैतिक दलको नेतृत्वबाटै तोकिएको समयमा निर्वाचन हुँदैन भन्ने खालको अभिव्यक्ति आइरहेको थियो । आन्दोलनकारी पक्ष आफ्ना माग तत्काल पूरा गराउन चर्को दबाबमा उत्रिएको थियो र सिंगो देशको रक्षा गर्ने जिम्मेवारी पाएका सुरक्षा निकायको मनोबल गिरेको थियो । त्यो विषम परिस्थितिमा पनि कत्ति विचलित नभइ देशलाई यो अवस्थामा ल्याएर निकास दिने प्रधानमन्त्री कार्कीप्रति सिंगो देश कृतज्ञ रहनेछ ।



प्रतिक्रिया दिनुहोस्: