वीरगंज, ०६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधवार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा स्थानीय मतदाताहरूसँग अन्तरक्रिया गर्दै उनले आफ्ना विकासका योजना र प्रतिबद्धताहरू प्रस्तुत गरे ।
घरदैलो अभियानका क्रममा कानुले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको जीवनस्तर उकास्ने र भुईँ तहका मानिसहरूको आवाजलाई संसद्मा प्रतिनिधित्व गर्ने बताए । “मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ ।”
कानुले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि आरोप लगाउँदै यस क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय काम नभएको बताए । “आज पनि यो क्षेत्र २० वर्षअघिको जस्तै अवस्थामा छ,” उनले भने, “म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु ।”
आफूसँग काम गर्ने अनुभव रहेको र जनतालाई निराश नपार्ने दाबी गर्दै उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । साथै, रास्वपाका सबै उम्मेदवारहरूलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाह (बालेन) लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने बताए ।
कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै मुस्लिम महिला तथा युवाहरूलाई रोजगारीमुखी तथा सीपमूलक तालिम प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । युवाहरूले कानुको उत्साहपूर्वक स्वागत गरेका थिए भने “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा समेत लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्: