२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र पढेर सार्वजनिक गरेका हुन् ।
राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ को नाम दिएको छ । राप्रपाले घोषणापत्रमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल, ‘पृथ्वी पथ’ लाई राखेको छ । भने राप्रपाले शासकीय स्वरूप जहाँ अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने राप्रपाको संकल्पपत्रमा (घोषणापत्र) छ ।
सर्वधर्म समभाव सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापनालाई आफ्नो मुख्य लक्ष्य बनाएको छ। संकल्प पत्रमा वर्तमान खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को अवधारणालाई समेटिएको छ।
‘प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना’ पनि उसले घोषणापत्रमा उल्लेख गरेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकको मौलिक हक सुनिश्चित गर्न राप्रपाले कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क गर्ने र आधारभूत स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।
विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्ने र गैरआवासीय नेपालीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउने प्रतिबद्धतासहित राप्रपाले आफ्नो चुनाव चिह्न ‘हलो’ मा मतदान गरी देशमा नवीन समझदारी निर्माण गर्न आम मतदातासँग अपिल समेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्: