बहुअरीमा रिमा कुमारी यादवको भव्य घरदैलो, फुलमालासहित स्थानीयको उत्साहजनक समर्थन

२०८२ फाल्गुन १

बीरगंज, ०१ फागुन। पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीमा नेकपा एमालेको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका क्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवलाई स्थानीयवासीले फुलमाला लगाएर स्वागत गर्दै सम्मान प्रकट गरेका थिए।

घरदैलोका क्रममा टोल–टोलमा पुगेकी यादवलाई मतदाताले “रिमा यादव लक्ष्मीको स्वरुप हुन्, उनको जित निश्चित छ” भन्दै खुलेर समर्थन जनाएका थिए। स्थानीयहरूले फुलमाला, अबिर–टिका लगाउँदै सगुनका रूपमा दही र मिठाई खुवाएर सम्मानसमेत गरेका थिए।

घरदैलोका क्रममा यादवले स्थानीयका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुनेकी थिइन्। उनले आफू भाषणमा होइन, काममा विश्वास गर्ने नेतृ भएको बताउँदै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाइन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भनिन्। साथै महिलाको आवाज सदनसम्म पुर्‍याउन फागुन २१ को चुनावमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरिन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर–२४ का अध्यक्ष विजय कुर्मी, वडा नम्बर–२३ का अध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

घरदैलो कार्यक्रममा युवा नेता मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रधुमन यादव र बिकी सिंह सहित ठूलो संख्यामा समर्थकको सहभागिता देखिएको थियो।

स्थानीय सहभागीहरूका अनुसार बहुअरी क्षेत्रमा एमालेप्रति बढ्दो समर्थनले चुनावी माहोल थप तातेको संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्: