पूर्वराजालाई विमानस्थलमा समर्थकको स्वागत (तस्वीरहरू)

२०८२ फाल्गुन १

१ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी भेला भएर उनको स्वागत गरेका छन्। भने उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् ।

विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । समर्थकहरूले उनलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरेका छन् ।

समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए।

यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले बताए ।

शाहलाई विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको हो ।

विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: