निषेधाज्ञा तोडेर विमानस्थलमा शक्ति प्रदर्शन गर्ने दुर्गा प्रसाईंको उद्घोष

२०८२ माघ ३०

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले स्थानीय प्रशासनको निषेधाज्ञालाई चुनौती दिँदै भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक उतार्ने घोषणा गरेका छन्।

काठमाडौँ बाहिरबाट फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थलदेखि निर्मल निवाससम्म र्‍याली निकाल्ने तयारी गर्दै प्रसाईंले भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत समर्थकहरूलाई भोलि मध्याह्न १२ बजे विमानस्थलको गेटमा भेला हुन निर्देशन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल आसपासका क्षेत्रमा जुलुस, प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध लगाएको सूचना जारी गरे तापनि त्यसलाई स्वीकार नगर्ने बताउँदै प्रसाईंले नेपाली जनताले घेरा तोडेरै भए पनि ‘महाराजधिराज’ को स्वागत गर्ने दाबी गरे।

सोही क्रममा उनले पूर्वराजालाई अब आँट गर्न आग्रह गर्दै आफूहरूले निर्मल निवासबाट निकालेर नारायणहिटी पुर्‍याउने उद्घोष समेत गरे भने प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई सम्बोधन गर्दै आफूलाई थुनेर चुनाव गर्ने कल्पना नगर्न समेत चेतावनी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्: