वीरगञ्ज । वीरगञ्जको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको आशंकामा गरिएको उक्त छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा तीनजना सशस्त्र प्रहरी घाइते भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा बेश वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली गोदाममा पुगेको थियो। खानतलासी सुरु गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए।
व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिल बिजक रहेको दाबी गर्दै विनाकारण सशस्त्र प्रहरीले दुःख दिएको आरोप लगाएका छन्। सोही क्रममा आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त भएको थियो।
झडपका क्रममा ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी चढेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीनजना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
सशस्त्र प्रहरीले गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिएको भए पनि त्यसको विस्तृत विवरण र परिमाण सार्वजनिक भइसकेको छैन। “अहिले सामानको लगत लिने र मुचुल्का उठाउने काम भइरहेको छ। गोदाम कसको हो भन्ने विषयमा पनि अनुसन्धान जारी छ,” नायव उपरीक्षक अधिकारीले बताए।
यता व्यापारीहरूले भने वैध रूपमा व्यवसाय गर्दै आएका व्यक्तिलाई पनि तस्करझैँ व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिलबिजक देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि स्थिति नियन्त्रण बाहिर गएको उनीहरूको भनाइ छ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्: