अलौंमा एमालेको शक्ति प्रदर्शन — अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेशमा उम्मेदवार रिमा यादवप्रति बढ्दो आकर्षण

२०८२ माघ २५

वीरगंज, २४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमाले वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा नयाँ प्रवेशीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नेकपा एमालेको संगठन विस्तार र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर छलफल गरेका थिए। सो अवसरमा प्रतिनिधिसभा उम्मेदवार रिमा यादवप्रति स्थानीय स्तरमा बढ्दो आकर्षण देखिएको आयोजकहरूले बताएका छन्। भेलामा विभिन्न पार्टी परित्याग गरी केही स्थानीय युवा तथा अगुवाहरू एमालेमा प्रवेश गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा स्थिरता, विकास र सुशासनका लागि बलियो नेतृत्व आवश्यक रहेको बताएका थिए। उम्मेदवार रिमा यादवले आफू जनताको समस्या समाधानमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने उल्लेख गरिन्।

उनले अलौसहित पर्सा–२ का विभिन्न स्थानमा सडक, पूर्वाधार र युवाका अवसरसम्बन्धी समस्या अझै समाधान हुन नसकेको भन्दै जनताको विश्वास जितेर परिवर्तनको अभियान अघि बढाउने बताइन्। कार्यक्रममा सहभागी युवाहरूले नयाँ सोच र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको भन्दै उम्मेदवार यादवप्रति समर्थन व्यक्त गरेका थिए।

स्थानीय स्तरमा पार्टी प्रवेश र कार्यकर्ता सक्रियतासँगै एमालेले पर्सा–२ मा चुनावी माहोल तातिएको संकेत देखिएको नेताहरूको भनाइ थियो। आयोजकहरूले आगामी दिनमा घरदैलो तथा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाउने योजना समेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्: