वीरगंजमा एमालेको शक्ति प्रदर्शन : योगेश भट्टराईको उपस्थितिमा जसपाका नेतासहित दर्जनौंको पार्टी प्रवेश, चुनावी माहोल तात्यो

२०८२ माघ २४

वीरगंज, २३ माघ । नेकपा एमाले वीरगंज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल त्यागेका स्थानीय प्रभावशाली नेताहरू एमालेमा समाहित भएपछि वीरगन्जको राजनीतिक माहोल थप सक्रिय बनेको छ।

कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति तथा जसपाका युवा नेता मुकेश द्विवेदी, वीरगन्ज–९ का पूर्व वडा अध्यक्ष मनोज कलवार, वडा नं. ३ का पूर्व वडा सदस्य तथा न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरलगायतका नेताहरूले एमाले प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई केन्द्रिय उपमहासचिव योगेश भट्टराईले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै विकास, सुशासन र स्थिरताका लागि एमाले नै प्रमुख शक्ति भएको दाबी गरे। उनले आगामी निर्वाचनमा एमालेको पक्षमा जनलहर बढिरहेको बताउँदै संगठन विस्तार र जनताको विश्वास जित्ने अभियानलाई अझ तीव्र बनाउने बताए।

एमाले महानगर अध्यक्ष लियाकत अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगन्जका पूर्वमेयर तथा एमाले केन्द्रीय सदस्य विजय सरावगी, पर्सा–२ का एमाले उम्मेदवार रिमा यादवलगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो। सहभागी नेताहरूले वीरगन्जको विकास, रोजगारी, पूर्वाधार र जनसेवाका मुद्दालाई केन्द्रमा राखेर एमालेलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: