निर्वाचनमा ७९ हजार ७२७ सेना परिचालन

२०८२ माघ २१

काठमाडौं। सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने भएको छ।

एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधबारबाट सेना परिचालन हुने भएको हो। निर्वाचनको एक महिना दिन अघिबाटै सेना परिचालन गर्ने योजना अनुसार बुधबारबाट सेना परिचालित हुन लागेको हो।

सरकारले परिचालित सेना एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधि अनुसार निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ। सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। सशस्त्र प्रहरीलाई पनि निर्वाचनमा खटाउने छ।

सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले निर्वाचन सुरक्षार्थ नेपाली सेना बुधबारबाट फिल्डमा परिचालित हुने बताए।

‘निर्वाचन हुनभन्दा एक महिनाअघिबाटै परिचालन गर्ने म्यान्डेटअनुसार सेना आगामी २१ माघदेखि फिल्डमा खटिनेछन्। यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ। सेना एकीकृत सुरक्षा योजनाले दिएको म्यान्डेटअनुसार नै फिल्डमा खटिनेछ,’ सहायक रथी बस्नेतले भने।

निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुनेछन्। आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुने बताइएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले सिफारिस गरेपछि ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए।

प्रतिक्रिया दिनुहोस्: