वर्षा गराउने प्रणाली पुनः सक्रिय हुँदै

२०८२ माघ १९

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेस बाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो।

सुदूरपश्चिम क्षेत्रमा आजदेखि नै हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बदली लागी चिसो बढ्ने महाशाखाले जनाएको छ।

अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यम सम्म वर्षा तथा हिमपात गराउने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।

उनले भने, ‘प्रणालीले मध्य नेपाल भन्दा पश्चिममा बढी असर गर्ने देखिन्छ, आज पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बदली भएको छ, त्यो बदली बढ्छ। मङ्गलबार मध्य नेपाल भन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात बढाउँछ।’

सोमबार राति तराई भू–भागका थोरै स्थानमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।

काठमाडौंमा मङ्गलबार राति छिटपुट सम्म वर्षा हुन सक्ने छ। भने राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ। गण्डकी, कर्णाली र सुदूरपश्चि प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: