झापा क्षेत्र नं.५ मा एमालेको युवा संघका शीर्ष नेताहरू नै रास्वपा प्रवेश

२०८२ माघ ८

झापा । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष नै रास्वपामा प्रबेश गरेका छन् । युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ रास्वपा प्रवेश गरेका छन् ।

उनीहरूले (आज) बुधबारदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा समर्थन जनाउने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गर्दै उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यसअघि नेपाली कांग्रेस झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेसको पद र क्रियाशील सदस्यतासमेत त्यागेको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: