झापा । झापाको दमकमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेको यो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका क्रममा झडप भएको हो ।
दमकको गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झडप भएको हो । रास्वपा समर्थकहरू बालेनले उम्मेदवारी दर्ता गर्न जाँदा उनको साथमा गएका थिए । एमाले अध्यक्ष ओली केही बेरमा उम्मेदवारी दर्ता गर्न जाने भएकोले एमालेका कार्यकर्ता पनि ठूलो संख्यामा जम्मा भएका थिए । २ दलका कार्यकर्ता आमनेसामने भएपछि झडप भएको हो । दुई समूहबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय दमकले अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ। प्रशासनले सम्भावित असुरक्षालाई ध्यानमा राख्दै व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।



प्रतिक्रिया दिनुहोस्: