२० हजार विद्यार्थीलाई निःशुल्क पढाउनु समाजवाद हो, ‘बिना ढेउवा के’ विदेश पठाउनु होइन : बालेन

२०८२ माघ ६

काठमाडौं । काठमाडौं  महानगरपालिकाको पूर्व मेयर बालेन शाहले आफू काठमाडौं महानगरपालिकाको मेयर भएर काम गरिरहँदा काठमाडौंमा मधेशमा उखु किसानहरुले भुक्तानी नपाएर आन्दोलन गरिरहँदा आफू अधिकारको अभावले केही गर्न नसकी हेरेर बस्न बाध्य भएकोले संघीय सरकारकै नेतृत्व गर्न अगाडी सरेको बताएका छन् ।

उखुको भुक्तानी नपाएका किसानहरुले आन्दोलन गर्नुपर्ने, मिटर ब्याज पीडितहरु न्यायको लागि काठमाडौं जानुपर्ने अवस्थाको लागि आफू नेतृत्वमा आउन खोजेको बताए । उनले मधेशमा नेताहरुले समाजवादको कुरा गर्ने तर समाजवादको क्षेत्रमा काम नगरेको बताए।

उनले भने ‘काठमाडौं महानगरपालिकामा हरेक वर्ष २० हजार विद्यार्थीहरुले छात्रवृत्तिमा महंगा महंगा स्कुल कलेजमा निःशुल्क पढ्न पाएका छन्, त्यो समाजवाद हो । हिजो काठमाडौंबाट मधेश झरेका नेताले ‘बिना ढेउवा के’ (पैसा बिना) श्रम बेच्न विदेश पठाउँछु भन्नु समाजवाद होइन ।’

आफू काठमाडौंको मेयरका रुपमा रहँदा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्‍याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौंला ? भन्दै प्रश्न गरे । ‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भने ।

 

प्रतिक्रिया दिनुहोस्: