बिरासत जोगाउन बाबुराम आफ्नै क्षेत्र गोरखामा

२०८२ माघ ६

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने बताउँदै आएका डा. बाबुराम भट्टराईले अन्ततः गोरखा २ बाट चुनाव लड्ने घोषणा गरे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले मतदाताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै चुनाव लड्न लागेको जानकारी गराए । आफ्नो पुरानो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ बाटै चुनाब लड्ने गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।

डा.भट्टराईले मुलुक अहिले राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सुशासनको गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि वैकल्पिक र नीतिगत राजनीति आवश्यक भएको बताए । ‘पुरानो सत्ता केन्द्रित राजनीतिले देशलाई अगाडि बढाउन नसकेको,’ डा. भट्टराईले भने, ‘अब विचार नीति र जनउत्तरदायी नेतृत्वको आवश्यकता छ, जसका लागि म गोरखा – २ बाट जनताको विश्वास लिएर संसदमा जान चाहन्छु ।’

‘नयाँ पुस्तालाई अघि सार्नुपर्छ भन्ने प्रयत्न गरेर पार्टीमा म संरक्षकको भूमिकामा मात्र छु, निर्वाचनको हकमा पनि सकभर नयाँलाई अघि सारेर जान पाए हुन्थ्यो भन्ने हो,’ उनले भने, ‘तर देशको राजनीति अझै तरल अवस्थामा रहेको र जटिल भू राजनीतिक परिस्थितीले मेरो आवश्यकता छ भन्ने महशुस गरायो ।’

भट्टराई २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्दबाट गोरखा – २ बाट निर्वाचित भएका थिए।२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समेत गोरखाबटै जितेका भट्टराईले २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो क्षेत्र छोडिदिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: