आगामी निर्वाचन कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्चमा रिट

२०८२ पुस २९

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट पेस गरेका हुन् ।उनले निर्वाचन तालिका सम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगितको माग गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाकाे माग गर्दै यसअघि दायर भएको रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएकोले रिट दायर गरेको अधिवक्ता शर्माले जानकारी दिए । सो रिटको पेसी आउँदो माघ ६ गतेका लागि तोकिएको शर्माले बताए ।

निर्वाचन प्रणालीतर्फ आगामी माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता देखि निर्वाचन प्रक्रियाको सबै काम स्थगित गराउन उनले रिट माग गरेका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्: