प्रतिनिधिसभा निर्वाचनका लागि ८० हजार सेना परिचालन हुने

२०८२ पुस २४

काठमाडौं। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार नेपाली सेना परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोही अनुसार सेना परिचालन हुने जानकारी दिए।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुने उनले बताए।

एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद् बाट स्वीकृत भइसकेको र निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछन्। निर्वाचन पूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षा देखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी समेत सेनाले बहन गर्नेछ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागार लगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ। त्यस्तै निर्वाचनका लागि सेनाले चार वटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको समन्वय, सहयोग र सहकार्यमा तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहज होस् भन्ने दृष्टीले उक्त तालिम र अभ्यास गरिने छ।

मतदानका समयमा निर्वाचन स्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति गराउने छ।

२१ फागुनको निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गर्ने उदेश्यका साथ अहिले प्रदेश स्तरमा समेत सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन्। गोष्ठीमा प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्यांकन र विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउने छन्।

प्रतिक्रिया दिनुहोस्: